आत्मालाप

सँगै हिँडिरहेका थियौँ हामी
ऊप्रति अनुदार भई 
म सपनाको उडान भर्न मोटर चढेर
काठमान्डौं छिर्दा उसले मलाई क्षमा दिएको थियो
जब ऊ मेरो पछि लागेर
मैले पालेको कुकुर जसरी
संसारको नरकमा पुग्थ्यो
म उसलाई काथर ठान्थें
बाटो पहिल्याउन नसक्ने लाछी मान्थें

हो, हामी लामो समयसम्म सँगै थियौं 
म वाफिलो जाडोमा
शंखरदेव अगाडिको क्याफेमा शिखर चुरोट उडाउँथें 
ऊ मुस्कुराइ रहन्थ्यो 
म रत्नपार्कको सारङ्गी दाइको कलामा 
दस रुपैया फ्याँक्थे 
ऊ मुस्कुराइ रहन्थ्यो 
म आफ्नो पेट काटेर किताब किन्थे 
ऊ मुस्कुराइ रहन्थ्यो
ऊ मसँग बोल्दैनथ्यो 
सपनामा बाहेक 
‘साथी, हामी गाउँ जानु पर्छ ।‘ ऊ भन्थ्यो 
‘किनकी तिमी र म एकै हौं ।‘
म भोलि पल्ट सपना बिर्सिदिन्थें 
मलाई लाग्थ्यो- 
म उसको आवश्यकता हुँ

हैरान छु अहिले
जब ऊ स्मृतिको आँखीझ्यालबाट चिहाउँछ मलाई
मैले छोडेका खुसीहरूको पसल थाप्छ 
मैले नपाएको खुसीहरू देखाउन भन्छ 
पहिला मैले वास्ता नगरेको सडकको छेउको दुबोमा पल्टन्छ 
मैले बेवास्ता गरेको मूलको पानी पिउँछ 
मानौं कि मलाई आफ्नो हटको मूल्य देखाउँदैछ 
मानौं कि ऊ मसँग स्पर्धामा छ
मसँग प्रत्यक्ष बोल्छ ऊ अचेल 
अनि भन्छ- 
“तिमी सक्दैनौं तर अझै भन्छु
म तिम्रो आत्मा हुँ 
आऊ मलाई शरीर बनाइदेऊ ।“

 
 
 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top