Zen 2040340 1920 1024x463

शब्द खेल

शब्द खेल
………
यो बजारमा बजार लाग्छ
मान्छेहरू आफैलाई बेच्छन् 
एक अर्काको बाटो थुनेर ट्राफिक जाम गर्छन्
क्रेता स्पष्ट नभएको यो बजारमा

के छ कुन्नि, 
सबै जना 
फुस्लिएर,
बहकिएर
आफ्नो मोल आफै तोक्छन्-
म पत्रकार
म नेता
म सामाजिक सेवक
म विद्यार्थी
अब के के हो के के ?
यी विजयघोषका आत्मरतिका वावजुद
यहाँ, 
हरेक दिन सबै विक्रेता घाटा सहन्छन्, 
अनि फेरि बजार थाप्छन् ।

साथी, 
सुन्दै छु,
तिम्रो गाउँमा सपना देख्ने मान्छे रित्तिइसके अरे!
तिमीले छोडिआएको घरमा धमिराले राज गर्दैछ रे!
तिमीले पसिना बगाएका जमिनहरू बाँझा बाँझा छन् रे!

खबर आएको छ, आफ्नै गाउँ बस्छु भन्दा
तिमीलाई ‘नामर्द’ भन्ने पुस्ता 
अहिले बु….ढो भइसक्यो रे
तिम्रो हातको एक घुट्की पानी पिएर मर्न चाहन्छ रे
बुझ, गाली ओठको कम्पन मात्र हो
जाऊ, त्यो पुस्ता सामु उँभिऊ 
हरेक पुस्तालाई मर्नुअगाडि बुद्धत्व प्राप्त गर्ने अधिकार हुन्छ ।
उनीहरूले बुझुन्- प्राप्ति भनेको शब्द खेल मात्र हो !

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top