अन्तिम असिना पानी

अन्तिम असिना पानी

…………………………………………………..

यो वर्षा उफान चिर्न सक्छ,

दिमाग रिङ्गाउन सक्छ
मानौं कि जरताको प्याला हो यो

मानौं कि पिडाको ओखती हो यो

मानौं कि जीवनको सबैभन्दा ठूलो आकर्षण-

बाछिटा आफ्नो अंगमा झर्न दिएर सोच्छ ऊ ।

 

अनि असिना झर्छ

सुन्दरताको कुरूप पक्षको रूपमा

कर्कश भएर-

ठोसको क्रमिकता

तरलता र ठोस बीचको अन्तर के ?

जीवनका अमिल्दा रङहरू कस्ता हुन्छन्?

पिडा अनि प्रफुल्लता, प्रफुल्लता अनि पिडा

ऊ एउटा असिना टिप्छ

आफ्नो हातमा खेलाउँछ

र ठोसलाई पग्लिन दिन्छ आफ्नो हत्केलामा

 

असिना हो कि जीवन हो यो ?

कि तरल हुन खोज्दै छ जीवन?

पग्लिदैं छ कि संघर्ष गर्दैछ ?

समर्पणको विन्दु हुनुपर्दैन ?

जीत हार निर्धारण हुनु पर्दैन ?

 

ऊ जान्दछ ऊ मर्दैछ

ऊ भित्र हुर्किदैं गरेको क्यान्सरले भन्छ

तर यो आसाले मृत्युको शाश्वततालाई असत्य बनाइदिन्छ

अनि ऊ मन मनै गम्छ-

म मर्दै छुइन

म मृत्युतिर बहँदै छु

तरलता अस्थिर हुन्छ

यो अस्थिरतामा

मृत्यु जमेर जीवन बन्छ

यही नै तरलताको वृत हो

तरलताको वृत !

@सन्देश घिमिरे

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top