अन्तिम असिना पानी
…………………………………………………..
यो वर्षा उफान चिर्न सक्छ,
दिमाग रिङ्गाउन सक्छ
मानौं कि जरताको प्याला हो यो
मानौं कि पिडाको ओखती हो यो
मानौं कि जीवनको सबैभन्दा ठूलो आकर्षण-
बाछिटा आफ्नो अंगमा झर्न दिएर सोच्छ ऊ ।
अनि असिना झर्छ
सुन्दरताको कुरूप पक्षको रूपमा
कर्कश भएर-
ठोसको क्रमिकता
तरलता र ठोस बीचको अन्तर के ?
जीवनका अमिल्दा रङहरू कस्ता हुन्छन्?
पिडा अनि प्रफुल्लता, प्रफुल्लता अनि पिडा
ऊ एउटा असिना टिप्छ
आफ्नो हातमा खेलाउँछ
र ठोसलाई पग्लिन दिन्छ आफ्नो हत्केलामा
असिना हो कि जीवन हो यो ?
कि तरल हुन खोज्दै छ जीवन?
पग्लिदैं छ कि संघर्ष गर्दैछ ?
समर्पणको विन्दु हुनुपर्दैन ?
जीत हार निर्धारण हुनु पर्दैन ?
ऊ जान्दछ ऊ मर्दैछ
ऊ भित्र हुर्किदैं गरेको क्यान्सरले भन्छ
तर यो आसाले मृत्युको शाश्वततालाई असत्य बनाइदिन्छ
अनि ऊ मन मनै गम्छ-
म मर्दै छुइन
म मृत्युतिर बहँदै छु
तरलता अस्थिर हुन्छ
यो अस्थिरतामा
मृत्यु जमेर जीवन बन्छ
यही नै तरलताको वृत हो
तरलताको वृत !
@सन्देश घिमिरे