मेरो बारेमा

आजभन्दा १३ वर्ष अगाडि काठमान्डौं आउँदा मलाई के गर्ने भन्ने कुरा थाह थिएन । बाँच्नु पर्ने बाध्यता थियो । अत: के काम गर्ने भन्ने छनौट गर्ने विकल्प थिएन मसँग ।

मैले पनि अधिकाशं मान्छेहरुले गर्ने गरेको शिक्षण गर्ने थाले । विभिन्न इन्टिच्युटहरुमा अंग्रेजी पढाएँ । तर प्रतिस्पर्धा यति ठूलो थियो कि शिक्षणका अलावा अर्को पेसा नगरी बाच्नै मिश्किल थियो- कहिले कहिले बिहान र बेलुका पढाएर दिउसो मार्केटिङ् गरें र कहिले कहिले प्रकाशन नभएको पत्रिकामा सम्पादक भएर काम गरे ।

निश्चितता थिएन र त्यसैले स्थिरता थिएन । स्थिरता मैले चाहाना गरेरको विषय पनि थिएन । म एउटा ‘चोर विरालो’ बन्न चाहन्थे, जसले विविध कुराहरु चाखेको होस्, जोसँग अभुभवको भण्डार होस् अनि भावनाको प्रचुरता । मैले विविधता मन पराए- आई मिन डाइभरसिटी इन एक्टिभिटी ।

सन २००७ तिर दुईवटा घटनाहरु घटे- एउटा घटना त पहिलादेखि नै घटिरहेको हुँदो हो, मलाई नै थाह नदिएर । म किताब पढ्न मन पराउँथे । आफू सामाजिक रुपले अन्तर्मुखी हुनुले मेरो पुस्तकप्रतिको झुकाव बढाइदिएको थियो । म जे हातमा आउँथ्यो त्यो पढ्थे- नेपाली वा हिन्दी वा अंग्रेजी भाषामा लेखिएका पुस्तक अथवा कथा, उपन्यास, निबन्ध, रोमान्स, समकालिन या फिर अश्लील साहित्य । अनि २००७ तिर म आफू पनि लेखक बन्न चाहन्छु भन्ने कुराको बोध भयो । तर यो अचानक घटेको घटना थिएन । वास्तवमा यो क्रमैसँग घटेको मनोमोहक घटना थियो ।

अर्को घटना के हो भने- अनिश्चितता र अस्थिरताको बिचमा रल्लिएर सबैभन्दा महान ड्याब्लर (चोर बिरालो) भएको बेला एक जना प्रकाशकसँग भेट भयो । उनी लेखक वा प्रकाशकको अनुमति नलिइकनै, कपिराइटलाई ख्याल नगरिकन अंग्रेजी पुस्तकलाई नेपालीकृत गर्थे र छपाउँथे । (ऊनी अझै पनि त्यही काम गर्छन् । नेपालको कपिराइट कानून। दैब जानून्) । भेट हुने बित्तिकै उनले मालाई दुईवटा पुस्तक अनुवादको कन्ट्राक्ट दिए- मेडम क्युरी र ग्यालिलीको जीवनी । दुईवटा पुस्तका अनुवाद गरेको रु. १०००० र १० प्रति नि:शुल्क ।

म कति खुसी भएको थिए त्यति बेला ! एक त यो मेरो लागि नयाँ काम थियो । त्यस माथि किताब पढ्न पाइने अनि किताबमा आफ्नो नाम पनि आउँने ।

यो रोमाञ्चकता त्यति बेला टुट्यो जतिबेला मलाई अंग्रेजीबाट नेपालीमा अनुवाद सोचेजस्तो ‘तीब्र’ र ‘सजिलो’ हुन नसक्ने कुराको बोध भयो । जे होस् मैले उनको लागि चारवटा पुस्तकहरु अंग्रेजीबाट नेपालीमा अनुवाद गरें (लगभाग २ लाख शब्दहरु) । तर उनलेने अन्तिमका दुईवटा पुस्तकमा मेरो नाम उल्लेख गरेनन् । कारण थियो, हाम्रो सम्बन्ध बिग्रिसकेको थियो ।

त्यस पछि मलाई एउटा चर्चित दैनिक पत्रिकाका पत्रकारले काममा लगाए । उनी बाठा थिए तर शोषक थिएनन् । उनका लागि मैले थोरै काम गरे पनि मैले ठूलो अनुभव हासिला गरें ।

म पूर्ण रुपले अनुवादक त्यति बेला भए जतिबेला मलाई रोबर्ट नाम गरेका जर्मन नागरिकले मेरो अनलाइन प्रोफाइल हेरेर मलाई एउटा कामको प्रश्ताव गरे । त्यो काम ठूलो थियो र उनी ज्युरिच विश्वविद्यालयको तर्फबाट मलाई सम्पर्क गर्दैथिए । मैले उनीहरुको लागि दश लाख भन्दा बढी शब्दहरु रुपान्तरण गरे लगभग दुइ वर्षमा नेपाली अनुवादकको रुपमा । यी दुई वर्षमा मैले थुप्रै अरु अनुवाद कम्पनी र क्लाइन्टहरुसँग सम्बन्ध बढाएँ । अन्त्यमा मैले शिक्षण पेसा छोडेर पूर्णकालिन अनुवादकको रुपमा काम गर्ने थाले ।

मैले अहिले सम्म ३० लाख भन्दा बढी शब्दहरु अनुवाद गरेको छु, १००० घण्टा भन्दा बढी समयको दोभाषेको सेवा प्रदान गरेको छु । म अहिले दशवटा भन्दा बढी अनुवाद कम्पनीहरुको नियमित प्रदायक छु । र यो सूचि प्रतिदिन बढ्दो छ अनि म आफू पनि नयाँ ग्राहकहरुसँग सम्बन्ध बढाउन उत्साहित छ ।

यो लेख अंग्रेजीमा पढ्नुहोस् ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *