Home » बाँसुरी वादक .

बाँसुरी वादक .

जब मेरी हजुरआमाले आफ्नो छेउमा
मलाई सुताएर, जगाएका
मुर्कुटा, राँके भूत, दुले भूत र किचकन्नीहरू
म भित्र बिस्तारै सुस्ताउन थाल्थे
जब झ्याउँकिरीले रातको कलिलोपनालाई निल्थ्यो
कसैले राजवंशी बस्ती तिरबाट बाँसुरी बजाउथ्यो
धुन निकाल्थ्यो यस्तो जसले मलाई सिरिङ्ग पार्थ्यो ।

को थ्यो त्यो वादक ?
किन बजाउथ्यो ऊ बाँसुरी
मेरो सुस्ताउँदो चेतना चिथर्ने गरी ?

तर मेरा आफ्नै पिडाहरू थिए-
भोलि मैले गुच्चा त खेल्नै थियो ।
म आफ्नी घुर्न थालेकी हजुरआमाको
पोल्टाबाट थैली निकाल्थें
र भेटे जति ढ्याक खाटामुनि झार्थे
बाँसुरी बज्दा बज्दै निदाउँथे ।

भोलि पल्ट खेत जोत्न आएको हिङ्गलाल राजवंशीलाई सोध्थे-
तपाईं हो बाँसुरी बजाउने, दाइ ?
‘मुलाई बाँसुरी बजाउन आउँदैन, भोइ’ उसको उत्तर हुन्थ्यो ।

त्यति नै बेला हुँदो हो-
कान्छो कामी क्षयरोगले मरेको
जीवनमा चालीस वर्ष बिताएको घरदेखि टाढा
बेवारिस
अनि हामी पाँच जनाले उसलाई बोकेर लगेर
सिमलको फेदमा गाडेको
धनीलाई पो धर्म र संस्कार ?
गरिब त मर्दै नमेरको बेस !

खै किन हो किन किन
मैले चलाख भएर
ऊ पुरिएको भागमा एउटा कचिया ठड्याइदिएँ
खै किन हो किन
मलाई आफ्नो बाँसुरी वादकलाई आफूले भर्खरै पुरेको महसुस भयो
तर क्षोभ जो लागि रह्यो
त्यस पछि का निकै रातमा
ऊ किन आफूलाई नचिनाएरै मर्यो
अनि आफूलाई खियाएरै फुकिरह्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *